सांसद् यादवको विशेष पहलमा जसपा पर्सामा जिल्ला नेतृत्वलाई लिएर जारी विवाद अन्त्य, रामनरेशले पाए अध्यक्षको जिम्मा
सांसद् यादवको विशेष पहलमा जसपा पर्सामा जिल्ला नेतृत्वलाई लिएर जारी विवाद अन्त्य, रामनरेशले पाए अध्यक्षको जिम्मा
वीरगञ्ज - जनता समाजवादी पार्टी पर्सा जिल्लामा दुई पक्ष विच रहेको विवाद अन्त्य भएको छ ।
प्रतिनिधिसभा सदस्य प्रदीप यादवको विशेष पहलमा जिल्लामा गठित दुई समानान्तर कमिटी बीचको विवाद अन्त्य भएको हो ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) यादवले विगत केही दिनदेखि गरिरहेको प्रयास आज सफल भएको छ । उनले आज वीरगञ्जस्थित आफ्नो निजी निवासमा दुवै पक्षलाई बोलाई गराएको बैठकबाट विवाद अन्त्य भएको जनाइएको छ ।
जिल्लामा समाजवादी पार्टीमा दुईवटा समानान्तर जिल्ला समन्वय कमिटी गठन भएको थियो । जिल्ला अध्यक्ष रामनरेश यादवले राम्ररी काम नगरेको आरोप लगाउँदै प्रदेशसभा सदस्य अब्दुल रहीम अन्सारी (मञ्जुर अन्सारी) ले बहुमत सदस्यहरूको सहमतिमा समानान्तर जिल्ला कमिटी गठन गरेका थिए ।
दुई महिनादेखि पार्टीको प्रदेश कमिटीलेसमेत प्रयास गर्दा दुवै पक्षलाई सहमतिमा ल्याउन सकिएको थिएन । प्रदेश कमिटीले कयौँ पटक प्रयास गर्दापनि रामनरेश र मञ्जुर समूहले आफ्नो दावी छाड्न मानिरहेका थिएनन् । तर, सांसद् यादवले दुवै पक्षका नेताहरुसँग विभिन्न चरणमा छलफल गरेर विवादलाई अन्त्य गर्दै पार्टिलाई एक ढिक्का बनाएर अगाडि बढ्न पहल गरिरहेका थिए ।
छलफल पश्चात मञ्जुर समूहले आफ्नो दावी फिर्ता लिँदै रामनरेशलाई जिल्ला अध्यक्षका रूपमा स्वीकार गरेको छ । मञ्जुरले पद भन्दापनि पार्टीको हित महत्पूर्ण रहेको बताउँदै रामनरेशसँगको विवादलाई अन्त्य गरेको सांसद् यादवको स्वकीय सचिव निखिल बरनवालले बताए ।
विवाद अन्त्यसँगै रामनरेश यादवको नेतृत्वमा रहेको पूरानो कमिटीले मान्यता पाएको छ । बैठकले मञ्जुरलाई प्रदेश कमिटीको उपाध्यक्षमा सिफारिस गरेको बरनवालले जानकारी दिए ।
जिल्लामा पार्टीलाई पुन: पहिलो बनाउन काम गर्ने बैठकमा सहभागीहरुले प्रतिबद्धतासमेत गरेका छन् ।
बैठकमा प्रदेशसभा सदस्य सिंहासन साह कलवार, जिल्ला सचिव तबरेज अहमद, पार्टीको प्रदेश कमिटी सदस्य सलाउद्दिन अहमद, प्रदेश सदस्य गौरी शंकर प्रकाश बैठा राम बड़ाई लगायात को उपस्थिति रहेको थियो ।