Breaking News :

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा शीर्ष स्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरूष जुनियरतर्फको वरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन्। उनको १० हजार ५ सय अङ्क छ। 

महासंघले जारी गरेको वरियताअनुसार जुनियरतर्फ दोस्रो वरियतामा मलेसियाका जस्टिन होह छन्। उनको नौ हजार पाँच सय ९० अंक छ। यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ ६ हजार ९ सय २५ अंकसहित तेस्रो स्थानमा छन्। फ्रान्सका एलेक्स लानिर ६ हजार ७ सय अंकका साथ चौथो तथा भारतका एस शंकर मुथुसामी सुब्रमन्यम ६ हजार ३ सय ४० अंकसहित पाँचौँ स्थानमा छन्। 

विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले आफ्नो सपना पूरा भएको बताए। उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताए। अबको ध्यान वरियतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताए।

नेपालमा प्रतियोगिताको अभाव तथा राम्रो प्रशिक्षण पाउन मुश्किल भएको दाहालको गुनासो छ। राज्यले खेलाडीका लागि उचित वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ। कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणबाट वञ्चित रहनुपरेको दाहाल बताउँछन्। पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौंमै अध्ययनरत छन्। 

नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो। व्यक्तिगत तथा देशकै लागि उल्लेख्य उपलब्धि भएको दाहालका मामा एवं व्यवस्थापक कमलेश निरौलाको ठम्याइ छ।

ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दाहालको सफलताले अन्य नेपाली ब्याडमिन्टन खेलाडीलाई हौसला मिलेको बताए। दाहालको सफलताले नेपालको समग्र खेल जगतलाई नै उत्साहित बनाएको श्रेष्ठको भनाइ छ।

दाहाल हालसम्म कुनै पनि विभागिय क्लबमा आबद्ध छैनन्। उनी सुदूरपश्चिम प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका छन्। विसं २०७६ मङ्सिरमा जारी विश्व वरियतामा दाहाल पहिलोपटक ३२औँ स्थानमा रहन सफल भएका थिए। त्यहीँ वर्ष पुसमा जारी बवरियतामा उनी १४औँ स्थानमा तथा पुस अन्तिम साताको वरियतामा दाहाल १०औँ स्थानमा उक्लिएका थिए।

विसं २०७६ चैतमा महासंघले जारी गरेको बरियतामा दाहाल सातौँ स्थान तथा गत वर्ष माघमा उनी तेस्रो स्थानमा उक्लिन सफल भएका थिए। त्यतिबेला दाहालभन्दा अब्बल डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर थिए। मुलर शीर्ष स्थानमा तथा कपुर दोस्रो स्थानमा थिए। दुवै जना हाल सिनियर प्रतियोगिता खेल्दै आएका छन्। 

विश्व ब्याडमिन्टन महासंघले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको बरियता सार्वजनिक गर्ने गरेको छ। दाहाल हाल ललितपुरको लगनखेलस्थित पिनागल कलेजमा कक्षा ११ मा अध्ययनरत छन्। यस्तै विश्व ब्याडमिन्टन महासंघले जारी गरेको जारी गरेको महिला जुनियरतर्फको वरियताअनुसार नेपालकी महिला खेलाडी रसिला महर्जन १९औं स्थानमा पर्न सफल भएकी छन्। 

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड