Breaking News :

युक्रेनको पूर्वी क्षेत्रमा रुसले फेरि बढायो आक्रमण

युक्रेनको पूर्वी क्षेत्रमा रुसले फेरि बढायो आक्रमण

रुसमाथि प्रतिबन्ध कडा पार्ने घोषणा गरेपछि रुसी फौजले आक्रमण बढाएको हो ।

रूसले युक्रेनको पूर्वी क्षेत्र डोन्बासमा बुधबारदेखि पुनः आक्रमण तीव्र पारेको छ । युक्रेनी सहर बुचामा ‘युद्ध अपराध गरेको’ भन्दै युरोपेली संघ (ईयू) ले रुसमाथि प्रतिबन्ध कडा पार्ने घोषणा गरेपछि रुसी फौजले आक्रमण बढाएको हो । डोन्बास क्षेत्रमा रुसले स्वतन्त्र राष्ट्र घोषणा गरेका दोनेत्स्क र लुहान्स्क पृथकतावादीहरूको नियन्त्रणमा छन् ।

दोनेत्स्क क्षेत्रका गभर्नरले भुहेलर सहरको मानवीय सहायता केन्द्रमा रुसी फौजले गरेको आक्रमणमा कम्तीमा २ जनाको मृत्यु भएको र ५ घाइते भएका जनाएका छन् । त्यस्तै लुहान्स्क क्षेत्रमा पनि रुसी फौजले आक्रमण बढाउने त्रासबीच युक्रेनी अधिकारीले सर्वसाधारणलाई सुरक्षित क्षेत्रमा जान आग्रह गरेका बीबीसीले जनाएको छ ।

युक्रेनी उपप्रधानमन्त्री इर्याना भेरेस्चुकले रुसी फौजले ‘महिला तथा बालबालिकामाथि यौन हिंसा’ गरेको आरोप लगाएकी छन् । रुसी फौजहरूले युक्रेनको बुचा सहरमा ‘युद्ध अपराध गरेको आरोपसँगै ईयू र अमेरिकाले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणा गरेका हुन् ।

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरी, विदेशमन्त्री सर्गेइ ल्याभ्रोभ र वरिष्ठ सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाइएको जनाइन् । त्यस्तै, रुसी वित्तीय संस्थाहरू र वरिष्ठ अधिकारीका परिवारमाथि पनि थप प्रतिबन्ध लगाइएको छ । अमेरिकाले रुसको सबैभन्दा ठूलो बैंकमाथि पनि थप प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । पाँचौं चरणको प्रतिबन्धअन्तर्गत ईयूले कोइलाको आपूर्तिमा रोक लगाएको छ । त्यस्तै, रुसको स्वामित्व र सञ्चालनमा रहेका पानीजहाजलाई ईयू सदस्य राष्ट्रका बन्दरगाह प्रयोग गर्न रोक लगाएको छ ।

युक्रेनको बुचा सहरमा रुसी फौजले ‘युद्ध अपराध’ गरेको अधिकारीहरूले आरोप लगाएका छन् । त्यसबारे अन्तर्राष्ट्रिय समुदायले पनि छानबिनको माग गरेका छन् । सर्वसाधारणमाथि ज्यादती गरेका दृश्य तथा तस्बिरहरू सार्वजनिक भएपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले मंगलबार बुचाको भ्रमण गरेका थिए । बुचामा कम्तीमा ३ सय जनाको सामूहिक चिहान भेटिएको थियो ।

त्यस्तै, राजधानी किभबाट उत्तरी क्षेत्रमा अवस्थित बोरोड्यान्का सहरका भग्नावशेष मुनि सयौं मानिसहरू फसेको युक्रेनी अधिकारीको आशंका छ । उनीहरूलाई निकाल्ने प्रयास गरिरहेका स्थानीयमाथि पनि रुसी फौजले अन्धाधुन्ध गोली चलाएको आरोप लगाएका छन् । सहरमा रुसी सेनाले भीषण गोलाबारी गरेको र ठूलो विध्वंस भएको जनाइएको छ । ती क्षेत्रमा भएका विध्वंसात्मक गतिविधिबारे थप विवरणहरू आइरहेका बीबीसीले उल्लेख गरेको छ ।

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले युरोपेली संघले रुसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । ‘कठिन समयमा कठिन निर्णयको आवश्यकता पर्छ,’ उनले भनेका छन् । रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेद्भेदेभले विदेशमा रहेको रुसी सम्पत्ति हडपेको विषयमा कानुनी लडाइँ लड्ने चेतावनी दिएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेयता मंगलबार पहिलो पटक राष्ट्रसंघीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले ‘रुसी फौज अन्य आतंकवादीभन्दा फरक नरहेको’ बताएका थिए । ‘रुसी सेनाले निहत्था सर्वसाधारणको हत्या तथा महिलाको बलात्कार गरेका’ आरोप लगाएका थिए ।

श्रोत: कान्तिपुर

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड