नेपाल टेलिकमले ई-सिम दिने, अल्टिमेट होराइजन टेक्नोलोजिजसँग सम्झौता
नेपाल टेलिकमले ई-सिम दिने भएको छ। यसका लागि उसले अल्टिमेट होराइजन टेक्नोलोजिजसँग सम्झौता गरेको छ।
अब नेपाल टेलिकमले आफ्ना ग्राहकलाई ई-सिम उपलब्ध गराउने भएको छ । त्यसका लागि आइतबार (२०७९ बैशाख ११ गते) नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्द बीच सम्झौता भएको छ । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ ।
सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक काम छिट्टै नै सुरु हुने बताइन्।
अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।