Breaking News :

कोरोनापछि रोकिएका चिनियाँलाई फर्किन अल्टिमेटम

कोरोनापछि रोकिएका चिनियाँलाई फर्किन अल्टिमेटम

कोरोनापछि रोकिएका चिनियाँलाई फर्किन अल्टिमेटम

कोरोना भाइरस फैलिएपछि नेपालमा रोकिएका चिनियाँ नागरिकलाई घर फर्कन गृह मन्त्रालयले ‘अन्तिम’ अल्टिमेटम दिएको छ। यससँगै उनीहरू असार १५ (जुन २९) गतेसम्ममा चीन फर्किनुपर्ने भएको छ। पर्यटक प्रवेशाज्ञा (भिसा)मा नेपाल बस्दै आएका चिनियाँको भिसा असार १५ पछि नियमित नगर्ने निर्णय मन्त्रालयले गरेको छ। यो निर्णय जेठ १६ गते गरिएको हो। 

उनीहरूको भिसा अन्तिमपटक नियमित गरिने भएकाले तत्काल फिर्ता लैजान मन्त्रालयले चिनियाँ दूतावासलाई आग्रह गरेको छ। नेपाल–चीन नियमित उडान जेठ १७ गते सुरु भएकाले शुल्क लिएर भिसाको म्याद एक महिना थप गर्ने निर्णय गृहले गरेको हो। भिसा म्याद अन्तिम पटक थप गर्ने विषयमा गृहमन्त्री बालकृष्ण खाँणले ‘मन्त्री स्तरीय’ निर्णय लिएका हुन्। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले चिनियाँ नागरिकलाई असार १५ सम्म पर्यटक भिसा नियमित गर्ने गृहको निर्णय कार्यान्वयन गरिएको बताए। ‘पर्यटक भिसामा रहेका चिनियाँ नागरिक असार १५ भित्र स्वदेश फर्किसक्नुपर्नेछ’, महानिर्देशक भट्टराईले भने। 

कोरोनाका कारण कति चिनियाँ नेपालमा रोकिएका छन् भन्ने यकिन तथ्यांक छैन। उनीहरू नेपालमा कस्ता गतिविधिमा संलग्न छन् भन्नेबारे मन्त्रालय अनभिज्ञ छ। विदेशी नागरिक अनुगमन गर्ने अधिकार भए पनि विभागले त्यसतर्फ चासो दिएको छ्रैन। नेपालमा चिनियाँको अवैध गतिविधि नियन्त्रण गर्नु चुनौती बन्दै गएको छ। 

मन्त्रालयले जनवरी १ मा चिनियाँका लागि १ सय ५० दिन भिसा नियमित गर्ने निर्णय गरेको थियो। त्यसअघि पनि पटक–पटक भिसा नियमित गरिँदै आएको थियो। एक भिसा वर्षमा विदेशी नागरिक १ सय ५० दिनभन्दा बढी नेपाल बस्न पाउँदैनन्। पाँच महिना भिसा नियमित गर्दा पनि दूतावासले आफ्ना नागरिक फिर्ता लैजानेबारे चासो नदेखाएपछि गृहले स्वदेश फर्किने अन्तिम अवसर दिएको हो। 

गृहले यसपटक पनि दूतावासको आग्रहमा थप एक महिना भिसा नियमित गर्ने निर्णय गरेको छ। दूतावासले दुई महिनाको समय मागेको थियो। तर, गृहले नेपाल र चीनबीच हवाई उडान सुरु भएको भन्दै एक महिना मात्र भिसा नियमित गर्ने निर्णय गरेको हो। दूतावासले चीनका अधिकांश प्रान्तमा कोरोनाको जोखिम कायमै रहेको भन्दै आफ्ना नागरिकको भिसा नियमित गरिदिन आग्रह गर्दै आएको थियो। गृहको निर्णयसँगै आफ्ना नागरिकलाई फिर्ता लैजान दूतावासलाई दबाब परेको छ। मन्त्रालयले दूतावासालई असार १५ भित्र आफ्ना नागरिक स्वदेश फर्काउने वातावरण मिलाउन भनेको छ।

कोरोना फैलिन थालेपछि बेलायत, अमेरिका, जापान, दक्षिण कोरियालगायत मुलुकले विमान चार्टर गरी आफ्ना नागरिक फिर्ता लगेका थिए। चीनले केही न्यून संख्यामा मात्र विमान चार्टर गरेर आफ्ना नागरिक फिर्ता लागेको थियो। उसले नेपालमा अलपत्र भएर स्वदेश फर्कन खोज्ने नागरिकलाई फिर्ता लैजानेबारे चासो राखेन। त्यसपछि नेपालमा रहेका केही चिनियाँले दूतावास र सिंहदरबार अगाडि प्रदर्शनसमेत गरेका थिए। 

पर्यटक र व्यावसायिक प्रवेशाज्ञामा नेपाल बस्दै आएका केही चिनियाँ आपराधिक क्रियाकलापमा संलग्न देखिएका छन्। भिसा दुरुपयोग गर्दै गत महिना मात्र आपराधिक गतिविधिमा संलग्न २२ जना चिनियाँ महाराजगन्जको एउटा घरबाट पक्राउ परेका थिए। गृहको निर्णयसँगै पर्यटक भिसामा नेपालमा बस्दै आएका चिनियाँ नागरिक असार १५ भित्रमा चीन फर्कन बाध्य भएका छन्। हिमालय एयरलाइन्सले नेपाल र चीनबीच उडान सुरु गरेको छ। 

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड