फिफा वरीयतामा ७७ स्थान माथिको जोर्डनविरूद्ध खेल्दै नेपाल
फिफा वरीयतामा ७७ स्थान माथिको जोर्डनविरूद्ध खेल्दै नेपाल
एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटमा आज नेपालले पहिलो खेल खेल्दैछ। समूह 'ए' मा रहेको नेपालले जोर्डनसँग आज मध्य राति एक बजे कुवेत सिटीमा खेल खेल्दैछ।
नेपालले अहिलेसम्म जोर्डनविरूद्ध चार खेल खेलेको छ। जसमा नेपाल तीन खेलमा पराजित भएको छ भने एक खेल बराबरी खेलको छ। सन् २०११ मा विश्वकप छनोटको पहिलो लेगमा नेपाललाई जोर्डनले ९-० ले हराएको थियो। एक सातापछि घरेलु मैदानमा नेपालले जोर्डनलाई १-१ को बराबरीमा रोकेको थियो।
जारी एसियन कप छनोटको दोस्रो चरणमा नेपालको समूहमा जोर्डन पनि थियो। दोस्रो चरणको छनोटका दुवै खेलमा नेपाललाई जोर्डनले समान ३-० ले पराजित गरेको थियो।
नेपाल रहेको समूह ‘ए’ को खेल कुवेतमा हुने तय छ। समूहमा नेपाल र आयोजक कुवेतसँगै जोर्डन र इन्डोनेसिया छन्।
तुलनात्मक रूपमा नेपाली टिम समूहमा कमजोर छ। नेपाल फिफा वरीयतामा १६८औं स्थानमा छ। जोर्डन ९१औं, कुवेत १४६औं र इन्डोनेसिया १५९औं स्थानमा छन्।
फिफा वरीयतामा आफूभन्दा ७७ स्थान माथिको जोर्डनसँग खेल्नु नेपालका लागि कठिन चुनौती हो।
जोर्डनसँग आज राति प्रतिस्पर्धा गरेपछि नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
सन् २०२३ मा चीनमा हुने एसिया कपमा छनोट हुन समूहमा शीर्ष स्थानमा रहनु पर्नेछ। दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।