Breaking News :

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा दिग्भ्रमित गराउने र सवारी दुर्घटना गराउने होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, पोष्टर राख्न नपाइने भएको छ।

विज्ञापन बोर्डले आज सार्वजनिक गरेको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसहिंतामा रातको समयमा अत्याधिक चम्किलो प्रकाश दिने वा सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने उल्लेख छ।

सडक तथा सडक पेटीका खम्बा, पुल, आकाशे पुल, सडक किनारका रूख बिरूवा वा सडकको सौन्दर्यमा खलल पार्ने गरी विज्ञापन सामग्री राख्न नहुने उल्लेख छ।

विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी प्रसारण गर्न नहुने आचारसंहितामा उल्लेख छ।

विज्ञापनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न अन्य कुनै पनि व्यक्तिले विज्ञापन गर्दा वा गराउँदा लैंगिक समानता कायम गर्न र सामाजिक विभेद् अन्त्य गर्न आचरण पालना गर्नुपर्ने उल्लेख छ।

विज्ञापनमा महिलालाई यौनभोग्य वस्तु, विलासिता वा मनोरञ्जनको साधनको रूपमा प्रयोग गर्न नहुने उल्लेख छ।

संवेदनशील अंग प्रदर्शन गर्ने, महिलालाई पुरूषका तुलनामा कमजोर पात्रका रूपमा प्रस्तुत गर्ने विज्ञापन उत्पादन र प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख छ। 

विज्ञापनमा दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सीमान्तकृत वर्ग, यौनिक अल्पङ्ख्यक वा कुनै वर्ग क्षेत्र सम्प्रदाय वा समुदायको मर्यादामा आँच आउने गरी सामग्री बनाउन नहुने उल्लेख छ।

बालबालिकामा डर, त्रास, भय उत्पन्न गर्ने कार्यक्रम, विद्युतीय खेल वा चलचित्रको विज्ञापन गर्न नहुने र उनीहरूलाई होच्याउने र आत्मसम्मानमा चोट पुर्‍याउने विज्ञापन उत्पादन र प्रसारण गर्न नहुने आचारसंहितामा उल्लेख छ। 

विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले कुनै खास एउटै औषधिबाट सम्पूर्ण रोग निवारण हुने वा उपचार हुने, त्यसको ग्यारेन्टी हुने भनी औषधि विज्ञानले प्रमाणित नगरेका झूटा, अवैज्ञानिक विवरणयुक्त विज्ञापन उत्पादन र प्रसारण गर्न नहुने उल्लेख छ।

मानव अंग बढाउने, उचाइ बढाउने वा शरीरको तौल घटाउने वा बढाउने भनी प्रमाणित नभएका विषयमा पनि विज्ञापनमा रोक लगाइएको छ। 

विभिन्न रङ र कृत्रिम स्वादमा उत्पादित पेय पदार्थबाट हुने हानीको सम्बन्धमा सचेतनामूलक सन्देश समावेश नगरी विज्ञापन दिन नहुने आचारसंहितामा उल्लेख छ।

खाद्य तथा पोषणविद्को सिफारिसबिना खाद्यपुरक वस्तु (माइक्रो न्यूट्रियन्ट) तथा शक्तिवर्द्धक भनी कुनै पनि वस्तुको प्रयोग गर्न उक्साउने, लोभ्याउने खालका विज्ञापन गर्न नहुने उल्लेख छ। 

सहरी तथा स्थानीय सौन्दर्यमा प्रतिकूल असर पार्ने, च्यातिएका, खुइलिइएका वा होर्डिङ बोर्ड वा परीचयपाटी सम्बन्धित व्यक्तिले यथाशीघ्र हटाउनु वा त्यसमा सुधार गर्नुपर्ने उल्लेख छ।

सडक पेटीबाट आवातजावतमा असर पुग्ने गरी होर्डिङ बोर्ड राख्न नहुने र धार्मिक, पुरातात्विक स्थानमा त्यहाँको मौलिकता ढाक्ने गरी राख्न नहुने उल्लेख छ।

अनुमति दिएका स्थानमा निर्धारित आकार प्रकार र गुणस्तरको मात्रै विज्ञापन राख्न पाइने व्यवस्था रहेको छ। 

रासस

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड