क्यानडाको जंगलमा डढेलोले अहिलेसम्म ३८ लाख हेक्टर वन सखाप
क्यानडाको जंगलमा भीषण डढेलो, प्रदूषित वायुका कारण लाखौँ मानिस प्रभावित
ओटावा । क्यानडाको जंगलमा लागेको भीषण डढेलोका कारण उत्तर अमेरिकी देशहरुमा बाक्लो तुँवालो लागेको छ । डढेलोबाट निस्किएको धुँवाको मुस्लोका कारण बाक्लो तुँवालो लागेको हो ।
तुँवालोका कारण वायु प्रदूषण अत्यधिक बढेको छ भने प्रदूषित वायुबाट सुरक्षित रहन घर बाहिर निस्किँदा अनिवार्य एन नाइन्टी-फाइभ मास्क लगाउन स्थानीय बासिन्दालाई सुझाव दिइएको छ । क्यानडाबाट निस्केको धुँवा छिमेकी देश अमेरिकाको उत्तर पूर्वी आकाशसम्म फैलिरहेको जनाइएको छ । अमेरिकाका उत्तरपूर्व, मध्यपश्चिम र दक्षिणपूर्वी भागका करिब साढे सात करोड मानिस वायु प्रदूषणको चेतावनीमा रहेको सीएनएले उल्लेख गरेको छ ।
न्यूयोर्कले बिहीबारदेखि नि:शुल्क मास्क वितरण सुरु गर्ने जनाइएको छ । यस्तै क्यानडाले आफना बासिन्दालाई घर बाहिर निस्किँदा अनिवार्य मास्क लगाउन सुझाव दिएको छ । अधिकारीहरुले घातक तुँवालोको अवस्था यो साताभरी जारी रहने चेतावनी दिएका छन् । धुँवाको अधिकांश मुस्लो क्यानडाको पूर्वी प्रान्त क्युबेकबाट आइरहेको छ । क्युबेकको जंगलमा मात्रै एक सय ५० स्थानमा डढेलो लागेको जनाइएको छ । क्युबेकका जंगलमा लागेको यो अहिलेसम्मकै खराब डढेलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
न्यूयोर्कका गर्भनर क्याथी होचुलले राज्यका बासिन्दालाई बिहीबार एक करोड मास्क नि:शुल्क वितरण गरिने घोषणा गरेका छन् । अमेरिकी वातावरण संरक्षण निकाय ईपीएले उत्तर पूर्वका अधिकांश क्षेत्रको वायु अस्वस्थ रहेको जनाएको छ । उता क्यानडाको टोरन्टोमा अवस्था थप खराब हुँदै गइरहेको जनाइएको छ । क्यानडाका जंगलमा केही दिनदेखि लागेको डढेलोले अहिलेसम्म ३८ लाख हेक्टर वन सखाप भएको छ । डढेलो निभाउन सहयोग गर्न ६ सयभन्दा बढी अग्निनियन्त्रक क्यानडा पठाइएको हृवाइट हाउसले बुधवार जनाएको छ ।