प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा उनको निधन
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । ८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएससी) भनिने रोगबाट पीडित दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो । सीता दाहालको पार्थिव शरीरलाई अहिले बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने र आजै २ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ की जीवनसंगिनी सीता दाहालको आज बिहान ८:३३ बजे असामयिक निधन भएको र उहाँको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी गरिन्छ । उहाँप्रति हार्दिक श्रदान्जली तथा परिवारजनमा संमवेदना ! - सचिवालय